बिज्ञापन
दीपावलीको अवसरमा कानून उल्लंघन हुने गतिविधि रोक्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मैनबत्ती र बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, साथै आतिशबाजी, पटाका, भुईँचम्पा र अन्य विस्फोटक पदार्थको खरिद–बिक्री, ढुवानी, भण्डारण र प्रयोग नगर्न अनुरोध गरेको छ।
बिज्ञापन
जिल्ला प्रशासनले देउसी–भैलो मर्यादित, अनुशासित र व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, “कुनै गुनासो नआउने गरी मात्र देउसी–भैलो खेल्न, र त्यसपछि शान्ति–सुरक्षामा असर नपर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछौं।”
साथै, सार्वजनिक सडक, पदमार्ग र आवागमन हुने स्थानमा देउसी–भैलो खेल्न वा मण्डप निर्माण गर्न निषेध गरिएको छ। प्रशासनले चाडपर्वको बेला सम्पत्ति चोरी, ठगी र आपराधिक गतिविधि बढ्ने सम्भावना हुने भएकाले घर–परिवार सुरक्षित राख्न, घर खाली राख्दा छिमेकीलाई जानकारी दिन र शंकास्पद व्यक्ति देखिए तत्काल प्रहरीलाई खबर गर्न सुझाव दिएको छ।
बिज्ञापन
त्यसैगरी, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्रीजस्ता उपभोक्ता हितविपरीतका कार्य नगर्न भनिएको छ। यातायात क्षेत्रमा पनि प्रशासनले सवारीमा क्षमता भन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र तोकिएको भाडा मात्र लिन ध्यानाकर्षण गराएको छ।
जिल्ला प्रशासनले अनलाइन सपिङका नाममा हुने ठगी, अवैध चिठ्ठा, जुवा–तास लगायत गैरकानूनी कार्यबाट बच्न पनि सबैलाई सचेत रहन आग्रह गरेको छ।








