बिज्ञापन
देशका विभिन्न भागमा आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आउँदो शनिबार (कात्तिक १५) बिहानसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ।
बिज्ञापन
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सह–प्राध्यापक डा. विनोद पोखरेल का अनुसार काठमाडौं उपत्यकामा २४ घण्टासम्म वर्षा हुन सक्छ भने मधेस र कोसी प्रदेशमा ३६ घण्टासम्म निरन्तर वर्षा हुने सम्भावना छ।
“तीनवटै मोडेलले वर्षाको मात्रा फरक देखाए पनि, वर्षा हुने ठाउँ र अवधि उस्तै देखिएकोले अत्यन्तै सजग हुनुपर्छ,” उनले बुधबार राति सामाजिक सञ्जालमार्फत जनाएका छन्।
बिज्ञापन
मौसमविद्हरूका अनुसार हाल देशमा अरबसागरको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात, र पश्चिमी वायु को संयुक्त प्रभाव परेको छ। यो प्रभाव शनिबार बिहानसम्म रहने अनुमान गरिएको छ।
हाल देशका केही स्थानमा पानी परिरहेको छ भने दिउँसो र राति थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेती ले पनि ‘मोन्था’ चक्रवातको प्रभावले काठमाडौंसहित पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको र आगामी घण्टामा थप सक्रिय हुने जनाएका छन्। “अब लगातार वर्षा हुनेछ, मनसुनी झझल्को अनुभव हुनेछ,” उनले लेखेका छन्। उनले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने चेतावनी दिँदै धानबालीमा समेत क्षतिको सम्भावना औँल्याएका छन्।
यस्तै, मौसमविद् उज्ज्वल उपाध्याय ले पनि कोसीदेखि गण्डकी प्रदेशसम्म ठूलो वर्षा हुने र ३५ सय मिटरभन्दा माथिल्लो भूभागमा भारी हिमपात हुन सक्ने बताएका छन्।
“आज र भोलि लामो दूरीको यात्रा नगर्नुहोस्, हवाई सेवा पनि प्रभावित हुन सक्छ,” उनले सन्देशमा लेखेका छन्। मौसमविद्हरूले देशभरका नागरिकलाई सजग रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।








