बिज्ञापन
सन् २०२३ को अक्टोबरमा इजरायलमा कार्यरत रहँदा हमासद्वारा अपहरण गरिएका नेपाली युवा विपिन जोशीको एक भिडियो सार्वजनिक गरिएको छ।
बिज्ञापन
इजरायली सेनाले ‘युद्धका क्रममा प्राप्त सामग्री’को रूपमा फेला पारेको सो भिडियो इजरायली गुप्तचर निकायमार्फत विपिनको परिवारसम्म पुगेको जानकारी दिइएको छ। परिवारका अनुसार, उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देख्न सकिन्छ।
विपिनको परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “त्यो भयानक हत्याकाण्डको दुई वर्ष पुगेको दिन, जसले हजारौं परिवारलाई शोकमा डुबायो र हाम्रो समय रोकेर राख्यो, हामीले हाम्रो प्रिय छोराको जीवनको संकेत साझा गर्ने निर्णय गरेका छौं। यो हाम्रो लागि ठूलो आस्था र आशाको आधार हो।”
बिज्ञापन
परिवारको भनाइमा, दुई वर्षसम्म विपिन गाजाको सुरुङभित्र अपहृत अवस्थामा छन् भन्ने कल्पनासमेत गर्न नसकिएको तर अहिले त्यो कल्पना वास्तविकतामा बदलिएको छ। “भिडियोमा देखिएको जीवनको संकेतले हामीमा विश्वास जगाएको छ कि उनी अझै जिउँदा छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्मरणीय छ, सन् २०२३ अक्टोबरमा इजरायलमा भएको हमास आक्रमणमा १० जना नेपाली नागरिकको ज्यान गएको थियो भने विपिन जोशी अपहरणमा परेका थिए। परिवारका अनुसार, उक्त भिडियो केही महिनासम्म इजरायली सेनाको गोप्य निगरानीमा राखिएको थियो र हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको हो। तर, विपिनको पछिल्लो अवस्था अझै अज्ञात रहेको जनाइएको छ।








