बिज्ञापन
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैंची निर्यात ३३ प्रतिशतले बढेको छ। कार्यालयका तथ्याङ्कअनुसार, तीन महिनामा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैंची निर्यात भएको छ।
बिज्ञापन
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा एक हजार ७२ मेट्रिक टन अलैंची विदेश निर्यात गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने रु एक अर्ब सात करोड २२ लाख बराबरको अलैंची मात्र निर्यात भएको थियो।
तर, यस अवधिमा चिया निर्यातमा भने ४० दशमलव ९० प्रतिशतको गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक अर्ब एक करोड २१ लाख ८६ हजार बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार भन्दा निकै कम हो।
बिज्ञापन
कार्यालयका तथ्याङ्कअनुसार, निर्यात हुने मुख्य वस्तुहरूमध्ये भेनियर सिटको निर्यात १२६ प्रतिशत, छुर्पी ६१.८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी ७१.४० प्रतिशत, धातुका अवशेष शतप्रतिशत, र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, अदुवा निर्यातमा ३२.३० प्रतिशत र अम्रिसोमा २४ प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ। समग्रमा, मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु चार अर्ब ८० करोड ३९ लाख २४ हजार बराबरको मालसामान विदेश निर्यात गरिएको छ।








