बिज्ञापन
एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (सार्वजनिक सेयर) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा सेयर जारी गरिसकेको छ। अब बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागेको हो।
बिज्ञापन
कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर प्रतिकित्ता रु १०० अंकित मूल्यमा जारी गर्दैछ।
यसअघि जारी सेयरमध्ये, २ लाख ६१ हजार ६२७ कित्ता चितवनको रत्ननगर नगरपालिका क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई, ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री भइसकेको छ।
बिज्ञापन
अब बाँकी ४९ लाख ७० हजार ९२१ कित्ता मध्ये
३ प्रतिशत (१ लाख ४९ हजार १२७ कित्ता) कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत (२ लाख ४८ हजार ५४६ कित्ता) सामूहिक लगानी कोषका लागि र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा कात्तिक २३ गतेसम्म रहनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन अवधि मंसिर ३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आश्वा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्।







