होमपेज > पोखराको पर्यटन पुनर्जीवित : लामो बिदा र अनुकूल मौसमले पर्यटकको भीड

पोखराको पर्यटन पुनर्जीवित : लामो बिदा र अनुकूल मौसमले पर्यटकको भीड

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र अहिले फेरि उत्साहमा आएको छ। दसैँतिहारको लामो बिदा, खुला मौसम र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हो। यसले लामो समयदेखि प्रभावित पर्यटन व्यवसायमा नयाँ ऊर्जा र आशा थपेको छ।

बिज्ञापन

फेवातालको शान्त सौन्दर्य, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेल, तथा सांस्कृतिक र प्राकृतिक विविधताका कारण पोखरा पुनः देशकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा चम्किएको छ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले लेकसाइडका करिब ९० प्रतिशत होटलमा पाहुनाको अकुपेन्सी छ। उनले भने, “लामो बिदा र अनुकूल मौसमका कारण आन्तरिकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आएका छन्। यसले पोखरामात्र होइन, गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको छ।”

बिज्ञापन

पोखरामा हाल करिब १,२०० पर्यटकीयस्तरका होटलहरू सञ्चालनमा छन्, जसमा ७०० भन्दा बढी लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन्। यी होटलहरूले एकै रातमा ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता राख्छन्। अध्यक्ष सुवेदीका अनुसार, पोखराको पर्यटन क्षेत्रमा हाल करिब आठ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ, जसमा ६ खर्ब होटल व्यवसायमै लगानी छ। करिब १५ हजार व्यक्ति प्रत्यक्ष रूपमा यस क्षेत्रको रोजगारीमा संलग्न छन्।

पदयात्राको आकर्षणमा पनि वृद्धि

पोखरा नेपालको प्रमुख पदयात्रा (ट्रेकिङ) प्रवेशद्वार हो। अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल, र घोरेपानीपुनहिलजस्ता विश्वप्रसिद्ध ट्रेकिङ रुट यहींबाट सुरु हुन्छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यका अनुसार हाल कास्की, लमजुङ र म्याग्दीका विभिन्न चेकपोष्टमार्फत दैनिक १,००० देखि १,२०० विदेशी र करिब ४,००० नेपाली ट्रेकर पदयात्रामा निस्किरहेका छन्।

उनका अनुसार, अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले पोखरालाई विश्वका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन्। उनले भने, “हामीले अन्नपूर्ण नर्थ, जसलाई मौरिस हर्जोग ट्रेल भनिन्छ, नयाँ गन्तव्यका रूपमा प्रवर्द्धन गरेका छौँ। सरकार र निजी क्षेत्रले मिलेर यी रुटहरूको संरक्षण र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ।”

होटल र रेस्टुरेन्टमा उत्साह

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पर्यटकको चहलपहल देख्दा खुसी व्यक्त गरे। “दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो छ। रेस्टुरेन्ट र बारहरूमा भीड बढेको छ, जसले व्यवसायीलाई थप उत्साह दिएको छ,” उनले भने।

दीर्घकालीन योजनाको आवश्यकता

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले भने, “मौसमी चापले मात्र लगानी थेग्न सक्दैन। सरकारले दीर्घकालीन रणनीति बनाएर वर्षभरि पर्यटक भित्र्याउने योजना बनाउनु जरुरी छ।” उनले पोखराको प्राकृतिक, सांस्कृतिक र साहसिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न विशेष पहलको माग गरे।

उनका अनुसार, प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र महामारीजस्ता कारणले पर्यटन क्षेत्र सधैँ जोखिममा रहने भएकाले राज्यले दिगो पर्यटन रणनीति अपनाएर यो क्षेत्रलाई सुरक्षित र आकर्षक बनाउनुपर्छ।

फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदय अवलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स, गुप्तेश्वर गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पोखरालाई अझ जीवन्त बनाइरहेका छन्। सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताको संगम र साहसिक गतिविधिको अनुपम अवसरका कारण पोखरा फेरि पनि “नेपालको पर्यटन राजधानी”को हैसियतमा फर्किँदै छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते