बिज्ञापन
लगातारको वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौँडा–काठमाडौं जोड्ने दुईवटा मुख्य सडकमा असोज १७ गतेदेखि २० गतेसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बिज्ञापन
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सूचना जारी गर्दै असोज १७ देखि २० गतेसम्म हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा बेलुका ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौं सडक खण्डमा बेलुका ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने जानकारी दिएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार सो अवधिमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले संभावित जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालनमा अस्थायी रोक लगाइएको हो।
बिज्ञापन
प्रजिअ श्रेष्ठले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न र रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, पहिरोको उच्च जोखिम रहेका स्थान र नदी किनारका बस्तीहरूमा धनजनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउन सबै स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तहहरू र साझेदार संस्थाहरूलाई नियमित समन्वय र सम्पर्कमा रही विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सक्रिय रहन आग्रहसमेत गरिएको छ।









