बिज्ञापन
दशैँको अवसरमा घटस्थापनादेखि आज नवौँ दिनसम्म काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या ६ लाख ११ हजार ६५७ पुगेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना सुरु भएदेखि हालसम्म नागरिकहरू दशैँ मनाउन उपत्यका बाहिरिएका हुन्।
बिज्ञापन
पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले उपत्यका छाडेका छन्। त्यस्तै १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यका बाहिरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
“अहिले राजधानी छाडेर जानेको संख्या तीव्र रूपमा बढेको छ,” सुवेदीले भने, “तर काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन्।”
बिज्ञापन
घटस्थापनादेखि अहिलेसम्म एक लाख १३ हजार ४१५ सवारी साधन उपत्यका बाहिरिएका छन्। यी सवारी साधनमार्फत यात्रा गर्नेको मुख्य गन्तव्य देशका पूर्वी, पश्चिमी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला रहेका छन्।
उपत्यकामा भने ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना भित्रिएको ट्राफिक कार्यालयले जनाएको छ। कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगतीजस्ता मुख्य नाकाहरूमा यात्रुको भीड देखिएको छ।








