बिज्ञापन
हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। असत्यमाथि सत्यको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीका दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा ग्रहण गर्ने परम्परा रहेको छ।
बिज्ञापन
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। तर विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य मानिसले कुनै विशेष साइत खोज्न आवश्यक नपर्ने मान्यता पनि छ। साथै समितिले टिका लगाउँदा पूर्वतर्फ फर्केर लगाउन उपयुक्त हुने उल्लेख गरेको छ।
समितिका अनुसार आज बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन, दिउँसो १२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा र दिउँसो १ बजेर १७ मिनेटमा स्थिरासन खड्गयात्राको शुभसाइत रहेको छ।
बिज्ञापन
त्रेतायुगमा भगवान् रामले आजकै दिन असत्यको प्रतीक राजा रावणमाथि विजय प्राप्त गरेको धार्मिक विश्वास रहेकाले यसै दिनदेखि विजयादशमी पर्व मनाउन थालिएको हो। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।
यस दिन गुरु–पुरोहित, हजुरबुबा–हजुरआमा, बाबु–आमा तथा मान्यजनको हातबाट टीका–जमरा थापी दीर्घायु, यश, ऐश्वर्य र कार्यक्षमता बढोस् भन्ने कामना सहित आशीर्वाद लिने परम्परा छ।
पुरुषलाई टीका लगाउँदा “द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, रामको जस्तो शत्रु नाश होस्, नहुषको जस्तो ऐश्वर्य होस्, बलरामको जस्तो बल होस्, कर्णको जस्तो दानशीलता होस्” भन्ने मन्त्रोच्चारणसहित आशीर्वाद दिने चलन छ भने महिलालाई दुर्गा देवीको स्वरूप मानी “जयन्ती मङ्गला काली…” मन्त्रसहित आशीर्वाद दिने परम्परा छ।
आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका–जमरा थाप्न सक्ने धार्मिक मान्यता छ। घटस्थापनाका दिन विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानी आजदेखि पूर्णिमासम्म टीकासँगै ग्रहण गर्ने परम्परा रहिआएको छ।
देशभरका घर–घरमा मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै विजयादशमी पर्व उल्लासपूर्ण वातावरणमा मनाइँदैछ।








