भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। विभिन्न तौल समूहमा १७ वटा स्वर्ण पदक जितेर नेपालले उपाधि हासिल गरेको हो।
बिज्ञापन
नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ कास्य पदकसमेत प्राप्त गरेका छन्। प्रतियोगितामा रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्णपदक जितेकी छिन्। विपिन रानाले ५० किलो तौल समूहमा र शाहिल गुरुङले ५५ किलोमा स्वर्ण पदक प्राप्त गरे।
बिज्ञापन
नेपालका बुद्धि तामाङ, नेहा श्रीस, रजिना दर्लामी, निखिल कुमाल, दिवश आले, मोहित थापा, अमिशा पोखरेल, दिया छन्त्याल, समीक्षा दर्लामी, आदित्य गुरुङ, प्रविन भट्टराई र आकृति छन्त्यालले समेत स्वर्ण पदक जित्न सफल भए।
प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी दोस्रो तथा श्रीलङ्का ६ स्वर्ण, ५ रजत र १५ कास्य पदक प्राप्त गरी तेस्रो भयो। यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए। समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते।
बिज्ञापन
भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए।








