यस वर्षको इन्द्रजात्रा पर्वमा रथ तान्ने लगायत विभिन्न भूमिकामा संलग्न हुने व्यक्तिहरूलाई पहिलोपटक दुर्घटना बीमा सुविधा प्रदान गरिने भएको छ। गुठी संस्थानले बीमा व्यवस्था लागू गर्दै बीमाको दायरा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म कायम गरिएको जनाएको छ।
बिज्ञापन
गुठी संस्थानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पर्वमा खटिने करिब १०० जना सहभागीलाई बीमा सुविधा दिइने जानकारी दिइएको हो। संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुवरका अनुसार, देशका प्रमुख सांस्कृतिक पर्वमध्ये पर्नेको रूपमा चिनिने इन्द्रजात्रामा हनुमानढोका क्षेत्र वरपरका मानन्धर समुदायसहित करिब ८०० जना सहभागी हुने गर्छन्।
बिज्ञापन
यो वर्षको इन्द्रजात्रा भदौ ९ गते लिङ्गो काटेसँगै सुरु भइसकेको छ भने भदौ २६ गते राति १०:३० बजे इन्द्रध्वज पतनसँगै सम्पन्न हुनेछ। जात्रा सफल बनाउन गुठी संस्थानले खर्च व्यवस्थापन, जनशक्ति परिचालन र आवश्यक समन्वयको जिम्मा लिएको छ। यस कार्यमा हनुमानढोका दरबार कार्यालय, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणलगायतका निकायहरू संलग्न छन्।
कार्यक्रम तालिका अनुसार, भदौ १५ गते लिङ्गो हनुमानढोकामा पुर्याइनेछ भने भदौ १९ गते ध्वजापताका सहितको लिङ्गो उठाइ औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुनेछ। त्यसपछि भदौ २१ देखि २६ गतेसम्म कुमारी, गणेश र भैरवको रथयात्रा गरिने कार्यक्रम छ।
बिज्ञापन
जात्रा अवधिभर हुने अन्य प्रमुख गतिविधिमा आकाश भैरवको पूजा, महाकाली नाच, एरावत नाच, दशावतार नाटक, दहचोकको मेला, तथा स्वेत भैरवको मुखबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहनेछ। साथै, इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन गरिनेछ र नेवार समुदायले पाहुनापासालाई परम्परागत ‘समय बजि’ खुवाउने चलन पनि निरन्तरता दिइनेछ।
जात्राको अन्तिम दिन हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखले जात्राको अवलोकन गर्ने परम्परा रहेको छ, जुन मल्लकालीन राजा जयप्रकाश मल्लको पालादेखि चल्दै आएको हो।







