बिज्ञापन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय समुदायलाई नेपालका जलविद्युत् र सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गरेका छन्।
बिज्ञापन
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले भने, “जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ। म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु – नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्।”
मन्त्री घिसिङले नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने मोडमा पुगेको भन्दै जलविद्युत् देशको मात्र नभई दक्षिण एशियाकै स्थिर र हरित ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको बताए। उनका अनुसार, नेपालले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्य राखेको छ। सो लक्ष्यका लागि नेपाल–भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार निर्माणका काम अघि बढाइरहेका छन्।
बिज्ञापन
मन्त्री घिसिङले झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावना रहेको बताए। उनका अनुसार, यी ऊर्जाका स्रोतहरू नेपालका छिमेकी देशहरूको सौर्य र वायु ऊर्जासँग परिपूरक छन्।
क्षेत्रीय र विश्वव्यापी स्तरमा विकसित हुँदै गएको ग्रिड प्रणालीले विभिन्न देशबीच ऊर्जा प्रवाह सहज बनाउने, विद्युत् माग–आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने अवसर प्रदान गर्ने उनले उल्लेख गरे।
“यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग पूर्ण रूपमा मेल खान्छ,” मन्त्री घिसिङले भने, “जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ। यस दृष्टिलाई वास्तविकता बनाउने लक्ष्यका लागि क्षेत्रीय देशहरूले एकीकृत विद्युत् बजारतर्फ अघि बढ्नुपर्छ।”








