भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पर्सा लगिने भएको छ।
बिज्ञापन
जिल्ला अदालत पर्सामा दुवैजनाविरुद्ध सानो पाइला सहकारी ठगीको अभियोग दायर भएपछि अदालतले उनीहरूलाई कारागारबाटै झिकाउने तयारी गरेको हो। जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महतोले उनीहरूलाई चाँडै पर्सा अदालतमा झिकाएर बयान गराउने र थुनछेक आदेश गर्ने बताए।
बिज्ञापन
‘फरारको हकमा म्याद जारी हुन्छ। यसअघि नै कारागारमा रहेकाहरूलाई सम्बन्धित कारागारसँग समन्वय गरेर झिकाइन्छ। अब केही दिनमै उनीहरूलाई झिकाएर अदालतले पत्र काट्छ,’ महतोले भने। सानो पाइला सहकारी ठगीको दोस्रो चरणको अभियोगमा २९ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रूपैयाँ हिनामिना गरेको अभियोग छ। प्रतिवादीमध्ये २५ जना फरार छन्। उनीहरूको हकमा अदालतबाटै म्याद जारी गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग गरेको छ।
बाँकी चारजना भने अन्य सहकारी ठगीकै अभियोगमा पुर्पक्षका लागि कारागारमा छन्। रवि र छवि रूपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन्। छविलाई जिल्ला अदालत रूपन्देहीले र रविलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्न आदेश गरेको हो। रविलाई जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। छविलाई भने जिल्लाले नै थुनामा पठाउन आदेश दिएको थियो।
बिज्ञापन
तर उच्च अदालतले छविको हकमा जिल्लाकै आदेश सदर गर्दै रविलाई पनि थुनामा राख्ने आदेश गरेको हो। उक्त आदेश सर्वोच्च अदालतबाट पनि सदर भइसकेको छ। यससँगै उनीहरू दुवैजना मुद्दाको फैसला नआउन्जेल थुनामै बस्न पर्ने भएको छ।रामबहादुर खनाल र प्रमोद भट्टराई कास्कीमा थुनामा छन्। उनीहरू चारैजनालाई झिकाई मुद्दाको कारबाही अगाडि बढाउन माग गरिएको छ। अदालतले एउटै कारागारमा रहेका दुईजनालाई एकसाथ बोलाउने र अर्को कारागारमा रहेका दुई जनालाई अर्कोपटक बोलाउने भएको छ।
सानो पाइला सहकारीको दोस्रो चरणको अभियोगमा प्रतिवादी बनाइएका भूपेन्द्र राई, सागर केसी, मनिषा पाण्डे, दीपक लामा, विशाल तामाङ, कविता तामाङ, भगवती बम्जन, खिमानन्द कँडेल, नवीन अछामी, हेमन्त अधिकारी, दिपिका राई, नविना रिमाल, इरान लामा, सविना आले मगर, भक्तबहादुर भ्लोन, प्रदिप लामा, सविता लामा, शान्तिकुमारी सुवेदी, गणेशराज श्रेष्ठ, सुनिता नेवा, रोमन काफ्ले, कमल लामा, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र नवराज राउत फरार रहेको अभियोग पत्रमा उल्लेख छ।
उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा कसुरदार बनाइएको छ। यसअघि अनुसन्धानको क्रममा पनि रवि र छविलाई पोखराको सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान चलिरहँदा अन्य जिल्ला डुलाएर बयान गराइएको थियो। उनीहरूविरुद्ध पोखरा र बुटवलसँगै चितवनको सहारा चितवन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि मुद्दा छ। बुटवलबाहेकका जिल्लाले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए। त्यसविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत गएको छ। तर उच्च अदालतबाट आदेश भइसकेको छैन।
यता रविले भने भैरहवा कारागारबाट काठमाडौँकै डिल्लीबजारस्थित कारागारमा सरुवा गर्न माग गरेका छन्। अदालत र प्रशासनले अनुमति दिइसके पनि कारागार व्यवस्थापन विभागले कुनै निर्णय नगरी अड्काएको छ।








