बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा आज पनि हुने भएको छ। बिहीबार सुरु भएको उनको बयान आज पनि हुने भएको हो।
बिज्ञापन
पाँच प्रतिवादीलाई बयानका लागि अदालतमा उपस्थित गराइएकोमा प्रतिवादी छविलाल जोशी र लीला पछाईको बयान सकिएपछि बिहीबार लामिछानेको बयान सुरु भएको थियो। बिहीबार बयान नसकिएपछि आज पुनः उनको बयान हुन लागेको हो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा यो मुद्दाका प्रतिवादीहरूको बयान भइरहेको हो। सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाई, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो। सबै प्रतिवादीको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुनेछ।
बिज्ञापन
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्।








