काठमाडौँको चन्द्रागिरि नगरपालिकामा प्याराग्लाईडिङ सुरु भएको छ। उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको हो ।
बिज्ञापन
हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।
बिज्ञापन
सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ’ एडभेञ्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता समेत हुन् ।
भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन् । चन्द्रागिरी ९२३ सय मिटर० बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।
बिज्ञापन
प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
सरकारी अनुमति अनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए।
स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन् । उनले भने,’नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’
कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ । अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए ।
कति छ शुल्क?
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुबिधा उपलब्ध हुनेछ । फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने हुन्छ।
कम्पनीको सवारीमा जाने–आउने सुबिधा नलिने हो भने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडान भर्न सक्छन।
कसरी गर्ने बुकिङ?
चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ। जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिने जनाएको छ।








