जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बिमा दाबी २३ अर्ब २२ करोड नाघेको छ, तर अहिलेसम्म डेढ अर्ब रुपैयाँभन्दा थोरै मात्र बीमा रकम भुक्तानी गरिएको छ।
बिज्ञापन
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३ र २४ गते आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिको आधारमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेका हुन्। तर असोज २३ गतेसम्ममा बीमा कम्पनीहरूले केवल १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ मात्र भुक्तानी गरेका छन्, जुन कुल दाबीको ६.८२ प्रतिशत मात्रै हो।
बिज्ञापन
बीमा दाबीमध्ये सम्पत्ति बीमा (घर तथा संरचना) मा सबैभन्दा धेरै दाबी परेको छ – १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ। यसमध्ये हालसम्म १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। त्यसैगरी मोटर बीमा अन्तर्गत ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेपनि २४ करोड ९१ लाख रुपैयाँ मात्र भुक्तानी गरिएको छ।
बीमा कम्पनीहरूले भुक्तानी भइसकेका रकममध्ये धेरैजसो पेस्की (अग्रिम) स्वरूपमा प्रदान गरिएको जनाएका छन्। नेपाल बीमक संघका अनुसार सानातर्फका (२ करोडभन्दा कमका) सबै दाबी तिहारसम्म भुक्तानी गरिने योजना छ। हालसम्म कुल ३ हजार ९९ वटा दाबी परेका छन्, जसमध्ये २ हजारभन्दा बढी साना प्रकृतिका दाबी रहेका छन्।
बिज्ञापन
नेपाल उद्योग वाणिज्य महासंघको प्रारम्भिक अनुमानअनुसार जेनजी आन्दोलनले ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ। तर त्यसमध्ये केवल २०–२५ प्रतिशत मात्रै बीमित रहेको देखिएको छ।







