बिज्ञापन
बेलायतमा सम्पन्न क्याम्ब्रियन पट्रोल गस्ती अभ्यास (Cambrian Patrol Exercise) मा नेपाली सेनाले यस वर्ष पनि स्वर्ण पदक जित्न सफल भएको छ।
बिज्ञापन
अक्टोबर ३ देखि १२ सम्म आयोजित उक्त अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा रहेको १० सदस्यीय नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उच्च अंकसहित स्वर्ण पदक हात पारेको हो।
बेलायती सेनाले आयोजना गर्ने यो अभ्यासमा ३३ विभिन्न देशबाट ३५ अन्तर्राष्ट्रिय टोलीसहित कुल ११७ टिम सहभागी थिए। १० दिनसम्म ८ चरणमा विभाजित अभ्यासमा सहभागी टिमले करिब ६० किलोमिटर दुरी ४८ घण्टाभित्रै पार गर्नुका साथै हतियार, करिब ७० पाउण्ड (३२ केजी) बराबरको उपकरण र अन्य बन्दोबस्ती सामग्री बोक्नुपर्ने हुन्छ।
बिज्ञापन
अभ्यासमा लडाइँ तयारी, सूचना संकलन, घाइते तथा बिरामीको व्यवस्थापनजस्ता विविध सैन्य दक्षताको परीक्षण गरिन्छ।
लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार, “मानसिक र शारीरिक रूपले अत्यन्त कठोर मानिने यो अभ्यासमा नेपाली सेनाले सधैंजसो उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।” उनका अनुसार, गत वर्ष पनि नेपाली सेनाले यही अभ्यासमा स्वर्ण पदक जितेको थियो।
क्याम्ब्रियन पट्रोल अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा कठिन र सम्मानित सैन्य अभ्यासमध्ये एक मानिन्छ। यो अभ्यास बेलायती सेनाको UK Land Forces द्वारा प्रत्येक वर्ष वेल्स क्षेत्रमा आयोजना गरिन्छ।








