ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको राजस्व गत आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँले वृद्धि भएको छ। कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार, आर्थिक वर्ष २०७९/८० मा १७ करोड ६९ लाख रुपैयाँ आम्दानी भएकोमा आर्थिक वर्ष २०८०/८१ मा राजस्व बढेर १९ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
बिज्ञापन
राजस्व वृद्धिको प्रमुख कारण पर्यटक सङ्ख्यामा आएको उल्लेख्य वृद्धि हो। अघिल्लो आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ तथा अन्य राष्ट्रबाट एक लाख ५३ हजार २६२ पर्यटकले अवलोकन गरेका थिए भने, गत आवमा सार्कबाट ५० हजार ५३३ र अन्य राष्ट्रबाट एक लाख ६९ हजार ३९५ पर्यटक हनुमानढोका दरबार क्षेत्र पुगेका थिए।
बिज्ञापन
प्रवेश शुल्क नै प्रमुख आम्दानी स्रोत
पर्यटकबाट लिइने प्रवेश शुल्क नै संरक्षण कार्यक्रमको मुख्य आम्दानी स्रोत हो। हाल सार्क राष्ट्रका पर्यटकका लागि ५०० रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि १,००० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। नेपाली नागरिकलाई प्रवेश शुल्क लाग्दैन, तर सङ्ग्रहालय अवलोकन गर्दा भने शुल्क लाग्ने व्यवस्था गरिएको छ।
कुमारी अवलोकनको लागि तोकिएको समय
हनुमानढोका क्षेत्र जुनसुकै समयमा अवलोकन गर्न सकिए पनि जीवित देवी कुमारी हेर्न चाहनेका लागि बिहान ११:०० देखि १२:३० र साँझ ५:०० देखि ८:०० बजेसम्मको समय निर्धारण गरिएको छ।
बिज्ञापन
इन्द्रजात्राको अवसरमा पर्यटकको चाप बढ्ने
प्रमुख प्रधानका अनुसार, विशेषगरी भदौ, असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ। यस वर्ष पनि इन्द्रजात्रा नजिकिँदै गर्दा पर्यटक आगमनमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। इन्द्रजात्राको अवसरमा हनुमानढोका क्षेत्रको अवलोकन गर्न चाहनेहरूका लागि आकर्षण थपिने भएकाले पनि पर्यटक संख्या अन्य समयको तुलनामा धेरै हुने विश्वास गरिएको छ।
इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं महानगरपालिकाले छिमेकी पालिकाका प्रतिनिधिहरू र विदेशी पाहुनालाई समेत विशेष निमन्त्रणा गर्दै आएको छ।








