काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको टी–२० सिरिज जितेको छ । बुधबार कुआलालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपाल पाँच विकेटले विजयी भएसँगै सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
बिज्ञापन
फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि रुवी पोदारले २६ रन, पूजा महतोले २३ रन, रुविना क्षेत्रीले अविजित १५ रन, र सम्झना खड्काले १३ रन जोडेका थिए । मलेसियाका आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एक–एक विकेट लिए ।
बिज्ञापन
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले ४० रन, माहिरा इज्जती इस्माइलले १९ रन, आइन हामिजा हसिमले १५ रन, र नुर डानिया स्युहदाले ११ रन बनाइन् ।
नेपालका कविता कुँवर र राजमति ऐरीले समान तीन–तीन विकेट लिए भने रचना चौधरीले एक विकेट हात पारिन् । यसअघि, पाँच खेलको शृंखलामा पहिलो र तेस्रो खेल मलेसियाले क्रमशः ३ र १३ रनले जितेको थियो । नेपालले दोस्रो र चौथो खेलमा समान ६ विकेटको जित निकालेको थियो ।
बिज्ञापन
यस विजयसँगै नेपालले मलेसिया भ्रमणको टी–२० सिरिज ३–२ को नतिजासहित आफ्नो पक्षमा पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।








