बिज्ञापन
तनहुँको भिमाद नगरपालिका–९ स्थित भानुमतीका कृषकले सामूहिक रुपमा अकबरे खुर्सानीखेती गरेर करिब रु ४५ लाख आम्दानी गरेका छन्। जलवायुमैत्री नमूना कृषक समूहमार्फत सुरु गरिएको यो खेतीबाट स्थानीय कृषकको जीवनस्तरमा उल्लेख्य सुधार आएको छ।
बिज्ञापन
३५ जना कृषकको सामूहिक प्रयास
भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाका अनुसार, हाल भानुमती क्षेत्रमा ३५ जना कृषक सामूहिक रुपमा अकबरे खुर्सानीखेतीमा संलग्न छन्। थापाले भने, “अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ।”
बिज्ञापन
व्यक्तिगत स्तरमा उल्लेख्य आम्दानी
कृषक अखिल सारु मगरले मात्र यस वर्ष रु ७ लाख आम्दानी गरिसकेका छन् भने रु १२ लाख पुग्ने अपेक्षा राखेका छन्। अर्का कृषक जयकुमार थापाले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी रोपेर रु १ लाख ५० हजार आम्दानी गरेका छन्। उनका अनुसार, असारदेखि खुर्सानी बिक्री सुरु गरिएको हो।
खुर्सानीले गाउँ बनाउँदैछ पकेट क्षेत्र
कटनछाप, पाथर्दी, सखेप, पाइमे, र जौपानीमा व्यक्तिगत र सामूहिक दुवै रूपमा खुर्सानीखेती विस्तार गरिएको छ। वडालाई अकबरे खुर्सानीको पकेट क्षेत्र बनाउने उद्देश्यले ५० हजार बिरुवा वितरण गरिएको छ। वडा नम्बर ९ बाट बिरुवा उत्पादनका लागि रु १ लाख अनुदान समेत दिइएको थियो।
बजारमा राम्रो माग, प्रतिकेजी रु ३००–५००
थापाका अनुसार, उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, र खैरेनीटारका बजारमा बिक्री गरिएको छ। “बजारको समस्या छैन, माग धेरै छ,” उनले भने। थोक बजारमा प्रतिकेजी रु ३०० देखि ५०० मा बिक्री भइरहेको छ।
वार्षिक लक्ष्य: २ लाख ५० हजार केजी उत्पादन
कृषकहरूले वर्षको अन्त्यसम्म २ लाख ५० हजार केजी अकबरे खुर्सानी उत्पादन गर्ने लक्ष्य लिएका छन्। थापाका अनुसार, “पिरो भए पनि आम्दानीले कृषकको जीवन गुलियो बनाएको छ।”








