गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को बैठकका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
बिज्ञापन
हालैको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेका हुन्। स्रोतका अनुसार, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेताहरूलाई घटनाको पूर्ण जिम्मेवारी आफूले लिने भन्दै राजीनामा दिने अडान पहिल्यै व्यक्त गरेका थिए।
बिज्ञापन
आन्दोलन नियन्त्रणको क्रममा राज्य संयन्त्रले प्रयोग गरेको बलप्रति देशभर व्यापक आलोचना भइरहेको बेला मन्त्री लेखकको राजीनामा आएको हो। उनले मानवीय क्षति र राजनीतिक दबाबका कारण आफू गृहमन्त्रीको जिम्मेवारीमा बसिरहन उचित नठानेको बताएका छन्।
सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ भने मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिएको छ। गृहमन्त्री लेखकको राजीनामा पछि सरकारको आगामी कदम र नयाँ गृहमन्त्रीको चयनलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।








