भुटानको राष्ट्रिय ध्वजावाहक भुटान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडान सुरु गर्ने घोषणा गरेको छ। एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरासम्म सिधा उडान भर्ने तयारी गरिरहेको छ।
बिज्ञापन
हाल भुटान एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चारपटक नियमित उडान गरिरहेको छ। अबको चार्टर उडानले पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
बिज्ञापन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पहलले नेपाल र भुटानबीचको पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “सिधा उडानले पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्नेछ। पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यो महत्वपूर्ण पाइला हो।” साथै, उनले पर्यटन व्यवसायीहरूलाई यस किसिमका उडानहरूलाई दिगो बनाउन विशेष पहल गर्न आह्वान गरेका छन्।
पोखरामा अन्तर्राष्ट्रिय उडानको बढ्दो आकर्षण
बिज्ञापन
यसअघि गत असार ७ गते चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो। हाल हिमालयन एयरलाइन्सले पोखराबाट छेन्दुमा नियमित उडान सञ्चालन गरिरहेको छ भने, सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु-अस्ट्रेलिया मार्गमा उडान थालनीका लागि पहल गरिरहेको जानकारी दिइएको छ।
यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भुटान, चीन र अन्य मुलुकहरूसँग सिधा हवाई सम्पर्क विस्तार हुँदै जानु नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन विकासका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ।








