यसवर्षको दसैँ लक्षित रूपमा मुस्ताङबाट करिब १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो।
बिज्ञापन
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार पाँचवटै स्थानीय तहसँगको समन्वयमा गरिएको रिपोर्टिङको आधारमा यस्तो प्रक्षेपण गरिएको हो। उनका अनुसार, “गतवर्ष मुस्ताङबाट आठ हजार च्याङ्ग्रा निकासी भएको थियो, डोल्पाबाट भित्रिएर मुस्ताङ हुँदै चार हजारभन्दा बढी बाहिरिएका थिए। यसपटक त्यो संख्या अझ बढ्ने अनुमान गरिएको छ।”
बिज्ञापन
भेटेरिनरी कार्यालयको वार्षिक तथ्यांकअनुसार हाल मुस्ताङमा जम्मा ६४ हजार ४०८ भेडा, च्याङ्ग्रा र बाख्रा छन्। तीमध्ये ५६ हजार ४०५ च्याङ्ग्रा, ५ हजार ४२६ भेडा, र २ हजार ५७७ बाख्रा रहेका छन्। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका सबैभन्दा बढी च्याङ्ग्रापालन भएको क्षेत्र हो, जहाँबाट मात्र करिब ५ हजार भेडाच्याङ्ग्रा बाहिरिने प्रक्षेपण गरिएको छ। अन्य पालिकाबाट २ हजार ५ सय भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ।
लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, घरपझोङ, र थासाङ गाउँपालिकाबाट पनि सीमित संख्यामा च्याङ्ग्रा र बाख्रा बजारतर्फ पठाइनेछ। डा. अर्यालका अनुसार, “दसैँ–तिहारको बेलामा प्रायः चार वर्ष नाघेका वयस्क भेडाच्याङ्ग्रा बिक्रीका लागि पठाइन्छन्। साथै, तल्लो मुस्ताङ क्षेत्रमा सिनाल जातका बाख्राको पनि उल्लेखनीय पालन भइरहेको छ, जसको संख्या करिब २,५ सय बढी छ।”
बिज्ञापन
यसपटक डोल्पाबाट करिब ५ हजार च्याङ्ग्रा मुस्ताङ हुँदै म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लातर्फ जान सक्ने अनुमान गरिएको छ। यसरी मुस्ताङको उत्पादन र डोल्पाबाट भित्रिने च्याङ्ग्रा मिलाउँदा करिब २० हजारभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने आंकलन गरिएको छ। पछिल्लो वर्ष प्रति च्याङ्ग्रा २८ हजारदेखि ३५ हजार रुपैयाँ मूल्यमा बिक्री भएको भेटेरिनरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
यसैबीच, तिब्बतबाट पनि भेडाच्याङ्ग्राका पाठापाठी भित्रिने क्रम जारी रहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। न्हेचुङस्थित भन्सारका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईका अनुसार मासुजन्य प्रयोगका लागि वयस्क च्याङ्ग्रा भने भित्रिएको छैन।
उनका अनुसार, “चीनबाट च्याङ्ग्रा ल्याउन पशु क्वारेन्टाइन रिपोर्ट अनिवार्य छ। भित्रिएका च्याङ्ग्राको स्वास्थ्य परीक्षण लोमान्थाङ गाउँपालिकाका पशु चिकित्सकले गर्छन् र त्यसपछि भन्सारले वैधता प्रदान गर्छ।”
भन्सारमा क्वारेन्टाइनको पूर्वाधार नहुँदा पालिकाको पशु शाखाको सहयोगमा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिएको छ।








