उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामीण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
बिज्ञापन
उद्योगमन्त्री भण्डारीले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पहुँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताए। उनले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे। उनले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गरे।
बिज्ञापन
उद्योगमन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताए। उनले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गरे। उनले सरकारको निर्देशन अनुरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी, सामाजिक सुरक्षा भत्ता, शिक्षक, स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलब भत्ता बाँडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताए। उनले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताए। उनले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल, जङ्गल, जमिन, खानी, उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताए।
मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धि प्रमुख राजनीतिक दलहरूको रहेको उल्लेख गरे। उनले सरकारसँग निजी क्षेत्र, बैंकर्स र उद्योगी व्यवसायीहरूले खोजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताए। उनले विगतमा बनाएका विद्यमान नीतिहरू अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महसुस गरिरहेको उल्लेख गरे। उनले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताए।








