चितवन रत्ननगर–१२ मा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी सुवास भट्टका अनुसार, बुधबार बिहान उद्योग परिसरमा काम भइरहेका बेला पर्खाल भत्किँदा मजदुरहरू मलबामुनि पुरिएका थिए। घाइतेहरूलाई तत्कालै उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज लगिएको थियो।
बिज्ञापन
उपचारका क्रममा खैरहनी–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ मा बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर–१२ का ४५ वर्षीय कमल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, पर्सा घर भई रत्ननगर–१२ मा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारु घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
बिज्ञापन
प्रहरीका अनुसार, घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार उद्योगको पुरानो संरचना वा प्राविधिक कमजोरीका कारण पर्खाल भत्किएको हुन सक्ने बताइएको छ। प्रहरीले मृतक र घाइतेका परिवारसँग सम्पर्क गरी आवश्यक सहयोगको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ।








