बिज्ञापन
राजधानीको बौद्धस्थित पाँचतारे ह्यात होटलले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्देशन नआएसम्मका लागि सम्पूर्ण कर्मचारीलाई होटलमा उपस्थित नहुन आग्रह गरेको छ। होटल व्यवस्थापनका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आक्रमणपछि संरचना र सुरक्षामा गम्भीर क्षति पुगेकाले मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने भएको हो।
बिज्ञापन
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले जारी गरेको सूचनामा भनिएको छ, “होटलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अस्थायी रूपमा होटल पूर्ण रूपमा बन्द गरिएको छ।” सूचनामा सम्पूर्ण श्रमिकलाई अर्को सूचना जारी नभएसम्म होटल परिसरमा उपस्थित नहुन भनिएको छ।
प्रधानमन्त्रीको चासो, अर्थमन्त्रीको संवाद
बिज्ञापन
होटल बन्द गर्ने निर्णय सार्वजनिक भएपछि शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले यसबारे गम्भीर चासो देखाइन्। उनको निर्देशनपछि अर्थमन्त्री रामेश्वर खनालले होटलका सञ्चालक र व्यवस्थापन समूहसँग संवाद गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री खनालले सरकार सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको र व्यवसायलाई अविचलित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्। “तपाईंहरू उच्च मनोबलका साथ सेवा सुचारु गर्नुहोस्, हामी साथमा छौँ,” अर्थमन्त्री खनालले भनेका छन्। सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ।
पुनर्निर्माणका लागि समय लाग्ने
जेनजी आन्दोलनका क्रममा केही समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए। विशेषगरी होटलभित्र रहेको क्यासिनोमा सबैभन्दा धेरै क्षति पुगेको व्यवस्थापनले जनाएको छ।
आक्रमणपछि अधिकांश बुकिङ रद्द भएका र नयाँ बुकिङ पनि घटेका छन्। बीमा दाबीमा ढिलाइ, बैंकबाट कर्जा प्राप्तिमा समस्या र पुनर्निर्माण लागतका कारण होटललाई सेवा पुनःसञ्चालन गर्न समय लाग्ने भएको हो।
व्यवसायीहरूको निराशा
ह्यात होटल बन्द भएपछि व्यवसायीहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जेनजी आन्दोलनका क्रममा देशभरका पर्यटकीय व्यवसायहरूमा आक्रमण भएकाले पर्यटन क्षेत्र र अर्थतन्त्रमा ठूलो धक्का पुगेको बताएका छन्।
सिटिजन्स बैंकका अध्यक्ष तथा व्यवसायी प्रबलजंग पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “ठूला होटल, पोखराका होटल, चन्द्रागिरी केबलकार लगायत धेरै व्यवसाय बन्द छन्, तर राजनीतिक गतिविधि भने तीव्र छ।” उनले यस्तो अवस्थाले व्यवसायिक समुदायमा गहिरो निराशा उत्पन्न भएको टिप्पणी गरेका छन्।
ह्यात होटलको अस्थायी बन्दले देशको पर्यटन तथा सेवा क्षेत्रमा थप चुनौती सिर्जना गरेको छ। सरकार, व्यवसायी र सरोकारवाला पक्षबीचको सहकार्यले मात्रै पर्यटन व्यवसाय पुनर्जीवन पाउने विशेषज्ञहरूको मत छ।








