बिज्ञापन
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले हाल देशमा विद्यमान अस्थिर आर्थिक अवस्थालाई ध्यानमा राख्दै कर्जा सुविधा दुई महिनासम्म थप गर्न सरकारसँग औपचारिक आग्रह गरेको छ।
बिज्ञापन
सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिका बीच व्यवसायीहरू थप संकटमा परेको उल्लेख गर्दै तत्काल राहतस्वरूप कर्जा सुविधा मङ्सिर मसान्तसम्म विस्तार गर्न माग गरेका हुन्।
अस्थिरता, बक्यौता सङ्कलनमा गिरावट र बजारमा नगदको अभाव
बिज्ञापन
सङ्घको विज्ञप्तिमा हाल मुलुकमा देखिएको राजनीतिक र आर्थिक अस्थिरता, बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता असुलीमा आएको गिरावट, र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक असरले उद्योग र व्यवसाय क्षेत्र गम्भीर दबाबमा परेको उल्लेख गरिएको छ। “व्यवसायीहरू जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण दोहोरो संकटमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ।
दसैँ, तलब, कर्जा र करले व्यवसायीमा आर्थिक दबाब
चालु वर्षको चाडपर्व छिटो परेको, असोज मसान्तभित्र दुई महिनाको तलब, दसैँ खर्च, ब्याङ्कको ब्याज र साँवा, चालु पूँजी कर्जाको किस्ता तथा कर–राजस्व बुझाउनु पर्ने दायित्वले व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छन्।
सङ्घले यस्तो अवस्थालाई ध्यानमा राख्दै निम्न माग राखेको छ:
गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकहरूका हकमा मात्र लागू हुने गरी, चालु आर्थिक वर्षको असोज मसान्तभित्र बुझाउनु पर्ने रकमलाई दुई महिनाभित्र (मङ्सिर मसान्तसम्म) भुक्तानी गर्न दिने, वा सोही बराबरको थप कर्जा सुविधा दिई हिसाब मिलान गर्न पाउने व्यवस्था मिलाउने।
राहतले ऋणी र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने सङ्घको विश्वास
सङ्घले माग सम्बोधन भएमा हालको संकटबाट प्रभावित उद्योगी, व्यवसायी तथा सम्पूर्ण ऋणी वर्गलाई तत्काल राहत मिल्ने, साथै समग्र आर्थिक स्थायित्वमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। “सरकारले यथाशीघ्र निर्णय लिए हालको असहज परिस्थिति केही सहज बन्न सक्नेछ,” विज्ञप्तिमा उल्लेख छ।








