पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो।
बिज्ञापन
पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले रातोपाटीलाई बताए। उनले अदालतमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र तीमध्ये १७ जनाविरुद्ध थप मुद्दा दर्ता भएको जानकारी दिए । सरकारी वकिलको कार्यालयले दिउँसो १२ बजे मुद्दा दर्ताका लागि पठाएको थियो । कागजपत्र रुजु गरेर मुद्दा दर्ता गर्दा अबेर भएको उनले बताए।
बिज्ञापन
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ। प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा ९सामूहिक० २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ। त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
बिज्ञापन
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ।








