आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को दोस्रो संस्करण शनिबारदेखि मलेसियामा सुरू हुँदै छ। प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन् जहाँ नेपालले पनि आफ्नो पहिलो खेल खेल्ने छ।
बिज्ञापन
यस विश्वकपमा पहिलोपटक सहभागी हुन लागेको नेपालको महिला टोलीले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्ने छ। नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको कप्तानमा पुजा महतो तथा बंगलादेशको कप्तानमा सुमैया अक्तर छन्।
बिज्ञापन
नेपालले बंगलादेशसँग गत डिसेम्बरमा मलेसियामै भएको यू-१९ एसिया कपमा खेलेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो। ऐतिहासिक विश्वकप खेल्न लागेको नेपाली टोलीले एसिया कपमा व्यहोरेको हारको बदला लिँदै जितका साथ विश्वकप यात्रा सुरूवात गर्न चाहनेछ। यसले नेपालको सुपर सिक्स सम्भावना पनि बलियो बनाउने छ। विश्वकप खेल्न मलेसिया प्रस्थान गर्नुअघि नेपालकी कप्तान पुजा महतोले बंगलादेशसँग एसिया कपमा व्यहोरेको हारको बदला लिने बताएकी थिइन्। ‘हामी एसिया कपमा हारेको बदला लिन चाहन्छौं, अनि मिडियामा भन्नु छ कि जित मीठो होला तर बदला अझै स्वादिष्ट हुन्छ।’
शनिबार बाङ्गीको मौसमी अवस्था भने राम्रो देखिएको छैन। मौसम पुर्वानुमान अनुसार बाङ्गीमा दिनभरजसो बादल लाग्ने अर्थात् ओभरकास्ट कन्डिशन हुने देखिएको छ। त्यस्तै दिउँसो नेपालको खेल हुने समयमा वर्षाको सम्भावना पनि देखिएको छ। यस खेलमा टस जित्ने खेलाडीले बलिङ रोज्दा फाइदा हुनेछ। ओभरकास्ट कन्डिशनमा पहिले ब्याटिङ गर्न केही गाह्रो हुन्छ। त्यसकारण बलरहरू हावी बन्न सक्छन्।








