काठमाडौं महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ।
बिज्ञापन
महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गरिन् उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताइन्।
बिज्ञापन
उनले भनिन्, ‘काठमाडौंमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो।’ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरिन्। महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उनले जानकारी गराइन्।
कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्याङ्कमा महानगरवासी सुसूचित हुने बताए। यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २.५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ।
बिज्ञापन
यी प्रविधिगत उपकरण सौर्य ऊर्जाबाट चल्ने र ‘इनबिल्ट डेटा कनेक्टिभिटी’सहित छन्, जसले वास्तविक समयको डेटा महानगरको केन्द्रीय ‘ड्यासबोर्ड’मा पठाउने छन्।








