काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका रुखहरूमा झिलिमिली बत्ती राख्न प्रतिबन्ध लगाएको छ। आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगरपालिकाको ३७ औं कार्यपालिका बैठकले ‘लहरे बत्ती व्यवस्थापन कार्यविधि, २०८१’ स्वीकृत गरेको हो।
बिज्ञापन
कृत्रिम बत्तीले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने, सवारी सुरक्षामा जोखिम बढाउने र चराचुरुङ्गीको प्राकृतिक जीवनचक्रमा अवरोध पुर्याउने भएकाले यो कदम चालिएको कार्यविधिमा उल्लेख छ। साथै, यस्ता बत्तीहरूले पुरातात्त्विक र सांस्कृतिक सम्पदाको सौन्दर्यमा पनि नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको महानगरको ठहर छ। “काठमाडौं महानगरपालिका लहरे बत्ती व्यवस्थापन सम्बन्धी मापदण्ड २०८१ एकदम सानो मापदण्ड छ। जम्मा नौ वटा दफा मात्रै छन्,” कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने, “यसको मुख्य उद्देश्य भनेको काठमाडौं महानगर क्षेत्रभित्र सहरी सौन्दर्यको लागि लहरे बत्तीहरू रोप लाइट र स्ट्रिट लाइट राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरुङ्गीको जीवनचक्र, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरि राख्नका लागि यो मापदण्ड बनाइको छ।”
बिज्ञापन
यस कार्यविधि अनुसार कसैले बत्ति राख्नु पर्यो भने महानगरको वातावरण व्यवस्थापन विभागबाट स्वीकृति लिनुपर्छ। र, उक्त कार्यविधिको दफा २ ले महानगरपालिका क्षेत्र भित्रको सार्वजनिक स्थल तथा निजी स्वामित्वका स्थानमा रहेका रूख बिरुवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।
सोही कार्यविधिको दफा ८ ले महानगरको अनुगमन संयन्त्रमार्फत बत्ती महानगरको मापदण्डअनुसार छ कि छैन भनेर बेलाबेला अनुगमन गर्न सक्ने व्यवस्था गरेको छ। मापदण्डअनुसार नभएमा कारबाही गर्ने र महानगरपालिकाको नगरसभाबाट पारित भएको आर्थिक ऐनले तोकेको जरिवाना गर्ने व्यवस्था उक्त कार्यविधिले गरेको छ। साथै वातावरण संरक्षण ऐनअनुसारको दण्ड-जरिवानाको व्यवस्था गरिएको छ। अनुगमनका क्रममा महानगरपालिकाको अनुमति नलिई मापदण्ड विपरीत बत्तीहरू राखिएको देखिएमा ती मापदण्ड विपरीत राखिएका बत्तीलाई जफत गर्न सकिने व्यवस्था गरिएको छ।
बिज्ञापन
जात्रा तथा पर्वहरूमा राखिने बत्तीका लागि यो मापदण्डले सात दिनको समय छुट दिएको छ।








