सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन।
बिज्ञापन
कामपा-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौं पठाएको थिए। भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो। त्यही बिहानबाट बयान शुरू भयो। आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन।
बिज्ञापन
‘आज नसकिने नै भयो, भोलिचाहिँ छिट्टै सिध्याएर पठाउँछौं’, काठमाडौं सरकारी वकिल कार्यालय प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले भने। सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको श्रेष्ठले बताए। स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ। भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
‘बयान सकियो भने उहाँलाई काठमाडौंमा राख्नुपर्ने काम तत्काल छैन, त्यसैले सकिनासाथ हामी पोखरा पठाइदिन्छौ’, उनले भने। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अपराह्न ४ बजेभित्र बयान सकिने जनाएको छ।








