मानिसहरु धेरै सपना लिएर काठमाडौं आउने गर्छन्। म देशमैं केही गर्छु भन्ने सपना बोकेका मध्ये केही मानिसको मात्रै सपना पुरा हुन्छ। अरु व्यक्तिहरु भने रोजगारीको खोजीमा वैदेशिक यात्रामा लाग्ने गर्छन्। देशमै केही गर्न सकिन्छ भन्ने उदाहरणकी एक पात्र हुन् पार्वती आचार्य। माईतीघर बुटवल भएकी पार्वती बिहे गरेर काठमाडौं आइन्। उनी अहिले काठमाडौंको अनामनगरमा बस्दै आएकी छिन् । विदेश जाने योजना बनाएकी उनको जीवनले भने अर्कै मोड लियो।
बिज्ञापन

बिज्ञापन
पार्वतीको जन्म वि.सं २०४६ सालमा हालको बुटवल उपनगरपालिका वडा नं. ८ मिलनचोकमा भएको हो। विदेशको सपनालाई छोडेर अहिले उनी चटपटेको व्यवसायमा लागेकी छिन्। पार्वती चटपटेको व्यवसायमा निकै रमाइरहेकी छिन्। उनले घर नजिकै व्यवसाय चलाइरहेकी छिन्। उनले चटपटेको व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेकी छिन्। जम्मा तीन हजार रुपैयाँको लगानी गरेर शुरु गरेको व्यवसायबाट उनले पहिलो दिनमैं १५०० को व्यापार गरिन्। ‘पहिलो दिनमैं १५ सय को व्यापार हुँदा म धेरै खुशी भए’ उनले भनिन्। ‘म आफ्नो जीवनमा सबैभन्दा खुशी भएको दिन नै यही दिन थियो। पहिलो दिनको व्यापार हेरेर मैले चटपटेको व्यवसाय नै गर्ने सोच बनाए।’

बिज्ञापन
पार्वतीले विगत ६ वर्षदेखी चटपटे व्यवसाय सञ्चालन गर्दै आएकी छिन्। ‘चटपटे खानका लागि बबरमहल, पुतलीसडक, डिल्लीबजार, घट्टेकुलो, लगायत अन्य ठाउँबाट ग्राहकहरु आउने गरेको’ उनले बताइन्। चटपटे खान आउने ग्राहकहरु मध्ये केही ग्राहकहरुले किचकिच गर्ने गरेको उनको गुनासो छ। मासिक भाडा ३ हजार रुपैयाँ पर्ने सटरमा दैनिक ७ हजारसम्मको आम्दानी गर्छिन् पार्वती। ‘मैले एकपटक १२ हजारको पनि चटपटे व्यापार गरेकी छु’ पार्वतीले भनिन् । “मैले चटपटेको व्यवसायबाट नै काठमाडौंमा जग्गा पनि किनेको हो। काठमाडौँमा निरन्तर १२ वर्षदेखी बस्दै आएको छु” उनले भनिन्।
चटपटेको व्यवसायभन्दा पहिले उनी पनि जागिर गर्थिन्। उनले २ वर्ष मोबाइल पसलमा काम गरिन्। ६ महिना प्रेसमा पनि काम गरिन्। तर साहुहरुको किचकिच अनि समयमा तलब नपाउने भएकाले उनले यी कामहरु छाडेको बताउँछिन्। ‘अरुको जागिर भन्दा चटपटेको व्यवसाय नै शुरु गर्नुपर्छ भन्ने लाग्यो। यो व्यवसाय राम्रो पनि छ र म पनि निकै सन्तुष्ट छु’ पार्वती भन्छिन्।

उनले चटपटेको व्यवसायबाट नै छोरीलाई बोर्डिङ स्कुल पढाइरहेकी छिन्। व्यवसायबाट घर खर्च पनि चलाउने उनले घर बनाउँदा पनि आफूले यही व्यवसायको मद्दतले पैसा जुटाइन्। “मेरो छोरीलाई पढाउन वार्षिक ६५ हजार र घर खर्च लगायतका अन्य खर्च पनि यसै व्यापारले धानेको उनी बताउँछिन्। उनले भनिन्न ‘चटपटेको व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेकी छु। मैले बनाएको चटपटेमा कुनै अखाद्य वस्तु मिसाउदिन। मेरो पसलको चटपटे खान आउनेहरु पनि निर्धक्कका साथ खाने गर्छन्।’
उनी रोजगारीका लागि विदेश पलायन हुने युवाहरुलाई पनि सुझाव दिन्छिन्। ‘कुने पनि काम सानोठूलो हुँदैन, विदेश जानुभन्दा देशमै केही गर्नुहोस्। आफ्नै व्यापार सानो भएपनि राम्रो चल्छ। देशमै मेहनत गरे राम्रो कमाइ पनि हुन्छ।’
हेर्नुहोस् भिडियो:








