दसैँपछि सुनको मूल्यले दैनिक एकपछि अर्को नयाँ रेकर्ड कायम गरेको छ। विगत केही समयदेखि उचाइतर्फ लागेको मूल्यले गत बुधबार, बिहीबार र पछिल्लो कारोबार भएको दिन शुक्रबार तीनै दिन एकपछि अर्को गर्दै नयाँ उचाइ कायम गरेको हो।
बिज्ञापन
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुतीले सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए।
बिज्ञापन
महासंघका अनुसार नेपाली बजारमा पनि यो साता सुनको मूल्यले रेकर्ड कायम गरेको छ। साताको पहिलो र दोस्रो दिन दसैँ बिदा परेकोले यी दुई दिन कारोबार भएन।साताको तेस्रो दिन मंगलबार प्रति १० ग्राम १ लाख ३७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३८ हजार ७ सय १५ रुपैयाँ पुग्यो। यस्तै बिहीबार पनि नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३९ हजार २ सय ३० पुग्यो। शुक्रबार पनि पुनः नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम सुनको मूल्य १ लाख ४० हजार ९ सय ४५ पुग्यो।
यो मूल्य साताको पहिलो कारोबार भएको दिन मंगलबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ३ सय ४५ रुपैयाँ बढी हो। यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढ्यो। साताको पहिलो दिन मंगलबार प्रति १० ग्राम १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम भयो।
बिज्ञापन
व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।
एसियाली बजारमा शुक्रबार सुनको प्रारम्भिक मूल्य दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो । इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।
केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ । युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।








