झापा जिल्लामा दुई महिनाको अवधिमा रु १ एक करोड ८० लाख मूल्य बराबरको सुपारीका बिरुवा बिक्री भएका छन्। सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन्। सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्षले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताएका हुन्।
बिज्ञापन
‘बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्,’ उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ।’ किसानहरुले सुपारीको बिरुवा प्रतिगोटा रु एक सयदेखि रु एक सय २० सम्ममा किनेर लैजाने गरेका छन्। जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रमा दर्जनौं अनुभवी किसान र सुपारी सहकारीले सुपारीका बिरुवा बिक्री गर्दै आएका छन्। सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्षले जिल्लामा तीन हजार छ सय ७५ हेक्टर जमिनमा सुपारीखेती रहेको बताए। केही वर्षयता धान र चियाखेती मासेर किसानहरुले धमाधम सुपारीका बिरुवा रोप्न थालेका कारण सुपारीखेतीको क्षेत्रफल बढिरहेको उनको भनाइ छ।
बिज्ञापन
झापा सुपारीखेतीका लागि उर्वर हावापानीयुक्त स्थान मानिएको छ। हात्ती लगायतका जङ्गली जनावरले अन्न र तरकारीबाली खाएर क्षति गरिदिने हुँदा किसान वैकल्पिक खेतीको रुपमा सुपारीतर्फ आकर्षित भएका हुन्। खेती गर्न सजिलो, कम लगानी हुने र बढी आम्दानी दिने नगदे बाली भएकाले सुपारीखेतीतर्फ आकर्षित भएका किसानलाई सरकारले समेत प्रोत्साहित गर्दै आएको छ।








