बिज्ञापन
अमेरिकाको लस एन्जलसस्थित एक अदालतले बहुराष्ट्रिय कम्पनी जोनसन एण्ड जोनसन (J&J) लाई आफ्नो बेबी पाउडरका कारण क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई ९६६ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको छ।
बिज्ञापन
अदालतले कम्पनीलाई मेसोथेलियोमा नामक दुर्लभ प्रकारको क्यान्सरका लागि जिम्मेवार ठहर गर्दै मृतक मे मूरको परिवारलाई १६ मिलियन डलर क्षतिपूर्ति र ९५० मिलियन डलर जरिवाना प्रदान गर्ने निर्णय गरेको हो।
८८ वर्षकी मूरको सन् २०२१ मा मृत्यु भएको थियो। परिवारले उनी जीवनभर जोनसन एण्ड जोनसनको बेबी पाउडर र “शावर-टु-शावर” पाउडर प्रयोग गर्दै आएकी थिइन् भन्ने दाबी गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरूको आरोप थियो कि कम्पनीले उत्पादनमा रहेको एस्बेस्टोस (क्यान्सर उत्प्रेरक पदार्थ) को जोखिमबारे उपभोक्तालाई जानकारी नगराई धोका दिएको हो।
बिज्ञापन
अदालतको निर्णायक मण्डलले पनि कम्पनीको लापरवाही र बेइमानीका कारण मूरको क्यान्सर भएको ठहर गरेको छ। कम्पनीले भने निर्णयमाथि असहमति जनाउँदै अपीलमा जाने तयारी गरेको जनाएको छ। जोनसन एण्ड जोनसनका विश्वव्यापी कानुनी सल्लाहकार एरिक हासले भने, “यो फैसला कम्पनीविरुद्ध हालसम्म आएका मुद्दाहरूको परिणामभन्दा पूर्णतः विपरीत छ, हामी तुरुन्तै अपील गर्नेछौं।”
कम्पनीले हालसम्म आफ्ना पाउडर उत्पादनमा एस्बेस्टोस रहेको आरोपमा चलिरहेका मुद्दाहरूका लागि ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको बताइएको छ। हाल पनि विश्वभर ७० हजारभन्दा बढी मुद्दा विचाराधीन रहेका छन्, जसमा मेशोथेलियोमा र पाठेघरको क्यान्सर निम्त्याएको दावी गरिएको छ।
जोनसन एण्ड जोनसनले सन् २०२३ मा विश्वव्यापी रूपमा बेबी पाउडर बिक्री बन्द गरेको थियो। कम्पनीले मुद्दाहरू समाधान गर्न दिवालियापन अदालतमा आवेदन दिने प्रयास गरे पनि ती तीन पटक असफल भएका छन्।








