बिज्ञापन
असोज १७ गते शुक्रबार रातिदेखि लगातार परिरहेको वर्षाका कारण देशभर कम्तीमा ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमध्ये पुरुष १९, महिला २६ र नाबालक १५ जना छन्।
बिज्ञापन
सबैभन्दा बढी इलाम जिल्लामा मात्र ३७ जनाको मृत्यु भएको छ। तीमध्ये पुरुष १३, महिला १४ र नाबालक १० जना रहेका छन्। इलाममा ठूलो पहिरो र भीषण वर्षाले गाउँका बस्ती बगाएपछि ठूलो जनधनको क्षति भएको बताइएको छ। त्यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जना, उदयपुरमा महिला दुई र नाबालक एक गरी तीन जना, खोटाङमा दुई पुरुष र सुनसरीमा एक पुरुषको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
यस्तै, रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जनाको मृत्यु भएको छ भने मोरङ, सिन्धुली र महोत्तरीमा एक–एक जना महिलाको निधन भएको छ। सिन्धुपाल्चोकमा एक नाबालकको मृत्यु भएको र काभ्रेपालाञ्चोकमा दुई महिलाको शव भेटिएको सह–प्रवक्ता थापाले जानकारी दिए।
बिज्ञापन
सशस्त्र प्रहरी बलका अनुसार देशभर उद्धार र राहत कार्य जारी छ। निरन्तर वर्षाका कारण कतिपय स्थानमा उद्धारमा कठिनाइ भइरहेको भए पनि स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य अघि बढाइरहेका छन्।








