बिज्ञापन
प्रतिकूल मौसमका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं आरोही र पर्यटक फसेका छन्। बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएपछि उनीहरूलाई उद्धार गर्ने कार्य अहिले पनि जारी छ।
बिज्ञापन
चिनियाँ समाचार माध्यमहरूले जनाएअनुसार, हिमपातका कारण मार्ग बन्द हुँदा करिब एक हजार जना पर्वतारोही र उनीहरूको सहयोगीहरू फसेका छन्। केहीलाई उद्धार गरिए पनि अधिकांश अझै हिमपातग्रस्त क्षेत्रमा अल्झिएका छन्। रोयटर्सले उद्धृत गरेको जिमु न्युजका अनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरू करिब ४ हजार ९०० मिटर उचाइमा उद्धारमा खटिएका छन्।
उद्धार टोलीहरू हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा सक्रिय छन्। शुक्रबार साँझदेखि सुरु भएको बाक्लो हिमपात शनिबारसम्म जारी रहेपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि टिकट बिक्री अस्थायी रूपमा बन्द गरेको जनाएको छ।
बिज्ञापन
यसैबीच, सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँ र पहिरोका कारण पदमार्ग अवरुद्ध भएको जानकारी प्राप्त भएको छ। नाम्चे–जोरसल्ले खण्डमा मुख्य पदमार्ग क्षतिग्रस्त भएको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले जनाएको छ। टानले यात्रुहरूलाई सावधानी अपनाउन र विकल्पका रूपमा मूल बाटोभन्दा दुई–तीन सय मिटर माथिको खच्चर बाटो प्रयोग गर्न आग्रह गरेको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ र १९ गते अत्यधिक वर्षा र बाढीपहिरो ल्याएको थियो। इलाममा मात्रै बाढीपहिरोमा परी ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार, अप्ठ्यारोमा परेकामध्ये करिब ३५० जनालाई उद्धार गरी कुदाङ शहर पुर्याइएको छ भने २०० भन्दा बढी व्यक्तिसँग सम्पर्क स्थापित भइसकेको छ।
राष्ट्रिय दिवसको आठ दिन लामो बिदाको अवसरमा सयौं चिनियाँ पर्यटक कर्मा उपत्यका पुगेका थिए, जहाँबाट सगरमाथाको पूर्वी भागमा पुगिन्छ। उद्धारपछि कुदाङ पुगेकी १८ सदस्यीय ट्रेकिङ टोलीकी एक सदस्य चेन गे श्वाङले भनिन्, “मौसम असामान्य छ। अक्टोबर महिनामा यस्तो हिमपात कहिल्यै देखेकी थिइनँ, सबै कुरा एक्कासी भयो।”








