बिज्ञापन
बिज्ञापन
मौसमविदहरूले आगामी केही दिन देशभर भारी वर्षा हुने अनुमान गरेका छन्। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले असोज १७ देखि २१ (अक्टोबर ३–७) सम्म विशेषगरी पूर्वी नेपालमा भीषण वर्षा हुन सक्ने बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
डा. पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “फोरकास्ट नमिलोस् भन्ने कामना गरौँ, तर गत वर्षझैँ असोजमा भीषण पानी पर्ने सम्भावना धेरै छ। हाल तीनवटा मौसम मोडेलले पनि सो अवधिमा लगातार भारी वर्षा हुने देखाएका छन्। भोलिदेखि वर्षा हल्का-मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा ठूलो पानी पर्न सुरु हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, ३–४ दिनसम्म भारी वर्षा हुने सम्भावना भएकाले कृषकहरूले पनि तयारी गर्न आवश्यक छ।”
बिज्ञापन
यस्तै, मौसम पूर्वानुमान शाखाले मंगलबार बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म निरन्तर वर्षाका कारण देशभर ठूला जनधनको क्षति भएको थियो। यसैबीच भारतले पनि असोज १७–१९ (अक्टोबर ३–५) सम्म सिक्किम, पश्चिम बंगाल र बिहार क्षेत्रमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ।
प्राधिकरणहरूले यात्रु, कृषक र स्थानीयवासीलाई सतर्क रहन, जोखिमपूर्ण क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आपतकालीन तयारी गर्न आग्रह गरेका छन्।








