बिज्ञापन
दशैं पर्व नजिकिँदै गर्दा हिमाली भेडाच्याङग्रा (च्याङग्रा)को मूल्य यस वर्ष घटेको छ। व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा च्याङग्राको मूल्य करिब पाँच हजार रुपैयाँ र जिउँदो तौलको प्रतिकिलो मूल्य ५० देखि १०० रुपैयाँसम्म सस्तो भएको हो।
बिज्ञापन
बेनीका उपभोक्ता भरत रकालका अनुसार गत वर्ष ४० हजार रुपैयाँ तिरेर भेडाच्याङग्रा किन्नु पर्नेमा यसपालि ३५ हजारमै पाइएको छ। “तीन वर्षअघि रोज्जा च्याङग्रा ५२ हजार र च्यालु (हिमाली भेडा) ४०–४२ हजार थियो। यो वर्षको मूल्यले मध्यम वर्गका उपभोक्तालाई दशैंमा लेकाली मासुका परिकार खाएर पर्व मनाउन सजिलो बनाएको छ,” उनले बताए।
नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट च्याङग्रा आउने मात्रा बढ्नु, मुस्ताङमा च्याङग्रापालन विस्तार हुनु र जेनजी आन्दोलनपछि उपभोग घट्ने आशंकाले मूल्य घटेको हो। श्रेष्ठको समूहले पछिल्ला १० दिनमा मात्रै मुस्ताङबाट २,५०० च्याङग्रा काठमाडौं पुर्याइसकेको छ। गत वर्ष काठमाडौंमा जिउँदो च्याङग्रा प्रतिकिलो १,३०० रुपैयाँमा बिक्री भएकोमा यस वर्ष १,२५० रुपैयाँमै बिक्री भइरहेको उनले बताए।
बिज्ञापन
दशैंका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौं, चितवन र बुटवललगायतका बजारमा ल्याइने भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हुन्। तातोपानी र रसुवाका नाका बन्द भएकाले यस वर्ष ठूला सहरमा मुस्ताङबाट आउने च्याङग्रा बढी देखिएको व्यापारीहरू बताउँछन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब ३५ करोड रुपैयाँ बराबरको १४ हजार ६६८ भेडा–च्याङग्रा बिक्री भएको छ। तीमध्ये ७ हजार ६६८ मुस्ताङका किसानले पालेका र ६ हजार ८६८ डोल्पा, मुगु र जुम्लाबाट ल्याइएका हुन्। केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार सबैको स्वास्थ्य परीक्षणपछि बजार पठाइएको छ।
किसानहरूले अधिकतम च्याङग्रा ३५ हजार र भेडा (च्यालु) २८ हजार रुपैयाँसम्ममा बिक्री गरेका छन्। पाँच वर्षको उमेर पुगेका च्याङग्रा मासुका लागि उपयुक्त मानिन्छ। रैथाने च्याङग्राको शरीरमा लामो रौं हुने र तिब्बती च्याङग्राको रौं छोटो हुने किसानहरू बताउँछन्।
मुस्ताङको लोमान्थाङका किसान तेन्जिङ गुरुङले यस वर्ष मात्रै ५० वटा च्याङग्रा बिक्री गरेर जीविकोपार्जन गरेको बताए। उनका अनुसार मुस्ताङी च्याङग्राको ठूलो बजार पोखरा हो भने म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङका बजारमा पनि यसको खपत उच्च छ।
उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा हाल करिब ५० हजार च्याङग्रा पालिएका छन्। हिउँचितुवा र ब्याँसोको आक्रमण, घाँसको कमी र हिउँदको कठ्यांग्रिने मौसम किसानका प्रमुख चुनौतीका रूपमा देखिन्छ।








