बिज्ञापन
विदेशमा रोजगारी दिलाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा तीन जना व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
बिज्ञापन
पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने ३४ वर्षीय विशाल बुढा मगर, झापा बुद्धशान्ति गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३० वर्षीय निकेश ढुङ्गाना र महोत्तरी गौशाला नगरपालिका–९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन्।
प्रहरीका अनुसार, विशालले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट १५ लाख ३० हजार रुपैयाँ असुलेका थिए। निकेशले युके पठाइदिने भन्दै एक जना पीडितबाट ४१ लाख रुपैयाँ लिएको आरोप छ। यस्तै, योगेन्द्रले अल्बानिया लैजाने प्रलोभन देखाई एक जना पीडितसँग ९ लाख ३४ हजार रुपैयाँ ठगी गरेका थिए।
बिज्ञापन
उनीहरू सबै पीडितहरूसँग रकम लिएपछि सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा प्रहरी टोलीले विशाललाई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४, निकेशलाई ललितपुर महानगरपालिका–१५ र योगेन्द्रलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।








