चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो ।
बिज्ञापन
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत साउनमा कारोबारमा गिरावट आएको छ । साउन २०८१ मा नेपालभरि ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । साउन २०८२ मा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आव सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो ।
बिज्ञापन
गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभरि ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवर ५ लाख ९० हजार ५ सय ४३ घरजग्गा कारोबार भएको थियो ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ हजार २० घरजग्गा कारोबार भएको छ । साउनमा ललितपुर लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० कारोबार भएको छ ।
बिज्ञापन
यस्तै काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चाबहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १ सय ११ घरजग्गा कारोबार भएका छन् ।
साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीले बताएका छन् । लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरे पनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघ अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए । उनका अनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष घिमिरेले भने–‘घरजग्गा कारोबारको अवस्था सबैतिरबाट बन्द भएको अवस्था छ । हामीले राष्ट्र बैंकको नीति आएपछि अलि उत्साही भएका थियौं । बैंक तथा वित्तीय संस्थाहरुले पनि घरजग्गालाई कारोबार गर्न भ्यालु रेसियो बढाउने, होम लोन गर्नेलाई पनि २ करोडदेखि ३ करोडसम्म दिने भनेर राष्ट्र बैंकको नीति आइसकेपछि उत्साहजक तवरले हामी व्यवसायीहरु अघि बढिरहेका थिर्यौं । त्यो हुँदाहुँदै कित्ताकाट बन्द भयो र झ्याप्पै रोकियो । कित्ताकाट रोकिनु र बन्द हुनु सरकारकै कुरा हो । सरकारले वर्गिकरणको एक वर्ष म्याद थपेको थियो । त्यो असारमा सिद्दियो । असारमा सकिएपछि साउन १ गतेबाट कित्ताकाट रोकियो । सरकारले समयमै नखुलाउँदा घरजग्गा व्यवसाय ठप्प हुँदैछ ।’
अध्यक्ष घिमिरेले घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको बताए । सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने उनको भनाइ छ ।








