देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धरै बेरुजु काठमाडौँ महानगरपालिकाको देखिएको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनले ६ महानगर पालिका मध्ये सबैभन्दा बढी बेरुजु काठमाडौँ महानगरको रहेको देखाएको हो ।
बिज्ञापन
महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौँ महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको छ । स्वतन्त्रबाट निर्वाचित भएका मेयर बालेन्द्र साह (बालेन)ले नेतृत्व गरेको महानगरको २.४७ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
बिज्ञापन
आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौँको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौँ महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौँ महानगरको २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गर्दा ६८ करोड २ लाख बेरुजु देखिएको छ ।
त्यस्तै पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख लेखा परीक्षण गरिएकोमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । जसको प्रतिशतको हिसाबमा ३.७४ प्रतिशत रहेको छ । पोखरामा धनराज आचार्य मेयर रहेको छन् । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ७० करोड ६५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ ।
बिज्ञापन
पर्सा वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख लेखा परीक्षण गर्दा ३.६२ प्रतिशत अर्थात् २२ करोड ७५ लाख बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले ६७ करोड ७८ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा थोरै बेरुजु कम भएको देखिएको छ ।
यस्तै, चितवन भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँको लेखा परीक्षण गर्दा १० करोड २ लाख अर्थात् ०.९० प्रतिशत बेरुजु देखिएको छ । २०७९/०८० मा महालेखाले ६६ लाख रूपैयाँ मात्र बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा भरतपुर महानगरको बेरुजु भने वृद्धि भएको देखिएको छ ।
महानगरमध्ये ललितपुर महानगरको कम बेरुजु देखिएको छ । ललितपुरको बेरुजु ०।५२ प्रतिशत अर्थात् १० अर्ब ६८ करोड ९७ लाख लेखा परीक्षण गर्दा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । २०७९/०८० मा महालेखाले ६१ करोड ९० लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा ललितपुर महानगरको बेरुजु कम भएको देखिएको छ ।
सबैभन्दा कम बेरुजु भएको मोरङको विराटनगर महानगरको गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ०.३२ प्रतिशत अर्थात २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ । २०७९/०८० मा महालेखाले २२ करोड ९५ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा विराटनगर महानगरको बेरुजु कम भएको देखिएको छ ।








