राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। उनको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो।
बिज्ञापन
सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई हराएका थिए । सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।
बिज्ञापन
पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए। उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए। संक्रमणको चार(पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो। पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए।
समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए। त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए। पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो। बोहरालाई घाटीको समस्या थियो। उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए। नबोलेरै उनी निर्वाचित भएका थिए।
बिज्ञापन








