प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
बिज्ञापन
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रूप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गरे।
बिज्ञापन
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरूलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए।
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए। “हामी उठ्न नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,” प्रधानमन्त्री ओलीले भने, “चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो। हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ। लागेपछि नेपाल बन्छ।”
बिज्ञापन
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए।
कार्यक्रममा कुलपति ओलीबाट वि.सं. २०८० / २०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन्। यसैगरी कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरू अरविनदकुमार शाह (अर्थोपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे। उनले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल उपस्थित समारोहमा कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्रा माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण प्रस्तुत गरेका थिए। प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई ५० शय्याको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिए।








