बिज्ञापन
आज राष्ट्रभर तिहार पर्वको तेस्रो दिन, लक्ष्मीपूजा श्रद्धा, उल्लास र उज्यालोका साथ मनाइँदैछ। ऐश्वर्य, धनधान्य र सम्पन्नताको प्रतीक मानीने देवी लक्ष्मीको विशेष पूजाआराधना गरिने आजको दिनलाई ‘लक्ष्मीपूजा’, ‘दीपावली’, ‘कुकुर तिहार’ र ‘नरक चतुर्दशी’का रूपमा पनि मनाइन्छ।
बिज्ञापन
आज बिहानै घर सफा गरी लिपपोत र सरसफाइ गर्ने परम्परा छ, किनभने ‘सफा नगरिएको घरमा लक्ष्मी आउँदिनन्’ भन्ने धार्मिक मान्यता छ। घरका प्रत्येक कुनामा—झ्याल, ढोका, चोटा, कोठा, कौसी, अटाली, भर्याङसम्म सफा गरी दीप जलाउने गरिन्छ।
लक्ष्मीको आगमनका लागि विशेष तयारी
बिज्ञापन
आज साँझ गाईको गोबर, रातो माटो, चामलको पीठो र अबिर प्रयोग गरेर घरको मूल ढोकादेखि पूजा कोठासम्म लक्ष्मीको पाइला बनाईन्छ। पाइलासँगै केराको सुत्लो वा माटाको पालामा दीप प्रज्वलन गरिन्छ। पूजा कोठामा दियो, कलश, गणेश र लक्ष्मीको मूर्ति स्थापना गरी, गरगहना, पैसा, धान, चामल, फलफूल, फूलमाला र सेलरोटी चढाएर विधिपूर्वक पूजा गरिन्छ।
कन्या पूजन र धार्मिक विश्वास
पूजापछि कन्या केटीहरूलाई लक्ष्मीको प्रतीक मानी पूजाआराधना गरी दक्षिणा दिने चलन छ। साथै, पूजापछि घरको सम्पत्ति बाहिर ननिकाल्ने चलन छ, किनभने ‘लक्ष्मी घरबाट बाहिरिन्छिन्’ भन्ने विश्वास रहेको छ।
कुकुर तिहार : बफादार जीवप्रति सम्मान
आजको दिन कुकुरलाई पनि विशेष पूजा गरिन्छ। वैदिक मान्यताअनुसार कुकुर यमराजका दूतरूपमा मानिन्छन्। उसप्रति श्रद्धा र सम्मान जनाउँदै माला लगाइन्छ, टिका लगाइन्छ र मनपर्ने खानेकुरा खुवाइन्छ।
भैलोको सांगीतिक झिलिमिली
साँझपख युवतीहरू समूहमा घरघरमा गई भैलो खेल्ने परम्परा छ। भैलो खेल्ने संस्कार बलिराजाको सम्झनामा गरिएको हो, जसले भगवान् विष्णुको वरदानबाट तीनै लोकमा शासन गरेको धार्मिक आख्यान पाइन्छ। भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी दिने चलन छ, जसलाई ‘कात्तिकको दान’ भनिन्छ।
शहर बजार झलमल्ल
तिहारको अवसरमा देशका सहरबजार दीपावलीले झलमल्ल छन्। घरदेखि पसल, सार्वजनिक स्थानदेखि कार्यालयसम्म रंगीचंगी बत्ती र झिलिमिलीले सजिएका छन्।
तिहार : यमपञ्चकको पाँच दिने पर्व
चान्द्रमान अनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ। धर्मशास्त्रअनुसार यस अवधिमा यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा मत्र्यलोकमा बिदा लिएर आउने विश्वास गरिन्छ।
आजको दिन सुख, शान्ति, समृद्धि र उज्यालोको कामना गर्दै लक्ष्मीपूजा गरिँदैछ, जसले धार्मिक, सामाजिक र सांस्कृतिक भावनालाई सँगै जोड्ने नेपाली परम्पराको मौलिक परिचय दिएको छ।








