बिज्ञापन
इजरायलमा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको छ। हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार विपिनसहित चारजना मृतक बन्धकको शव हस्तान्तरणको तयारी भइरहेको छ।
बिज्ञापन
इजरायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रीनका अनुसार, सोमबार साँझ बन्धक बनाइएका चार व्यक्तिको शव अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधिमार्फत फिर्ता गरिनेछ। हमासले मृतकको पहिचान गाई इलोज, योसी शराबी, विपिन जोशी र डेनियल पेरेजको रूपमा पुष्टि गरेको हो। यिनीहरूलाई ७ अक्टोबर २०२३ का दिन हमासले इजरायलको दक्षिणी क्षेत्रबाट अपहरण गरेको थियो।
विपिन जोशी : ‘लर्न एन्ड अर्न’ अन्तर्गत इजरायल पुगेका थिए
बिज्ञापन
नेपालका विपिन जोशी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि त्यहाँ पुगेका थिए। उनी पुगेको तीन हप्ताभित्रै हमासको आक्रमणमा परेका थिए। इजरायलको किबुज क्षेत्रको एउटा बंकरमा नेपाली विद्यार्थीहरू लुकेर बसेका बेला, हमासले आक्रमण गरेको थियो। बंकरभित्र फ्यालिएको दुई ग्रिनेडमध्ये एकलाई विपिनले बाहिर फालिदिएका थिए, जसले केही नेपाली साथीहरूको ज्यान जोगिएको थियो।
तर त्यस लगत्तै हमासका लडाकुहरूले विपिनलाई अपहरण गरेका थिए।
अन्य तीन बन्धकको पनि मृत्यु पुष्टि
गाई इलोजको मृत्युबारे इजरायली सेनाले ५६ दिनपछि उनका परिवारलाई जानकारी दिएको थियो। योसी शराबीको मृत्यु भने इजरायली वायुसेनाको आक्रमणपछि उनी राखिएको भवन ध्वस्त हुँदा भएको जनाइएको छ। डेनियल पेरेजको मृत्युबारे जानकारी परिवारलाई मार्च २०२४ मा दिइएको थियो।
विपिनको अवस्था लामो समयसम्म अस्पष्ट
अहिलेसम्म विपिन जोशीको अवस्था एकदमै अन्योलपूर्ण थियो। केही सञ्चारमाध्यमले उनी अझै जीवित हुन सक्ने आशंका व्यक्त गरेका थिए। तर सोमबार बिहान इजरायली सरकारले “विपिनको जीवित रहेको पुष्टि गर्न नसकिने” जानकारी दिएको थियो। रिहा गरिएका २० जना बन्धकको सूचीमा पनि विपिनको नाम थिएन।
शव गाडिएको स्थान नष्ट भएको दाबी
हमासले पछिल्ला दिनमा गाजामा भएको इजरायली हवाई आक्रमणले बन्धकहरू गाडिएको स्थानसमेत पूर्णरूपमा नष्ट भएको दाबी गरेको छ। उनीहरूले शवहरू विशेष संरचना नजिक गाडिएको बताए पनि भवन र वरपरका सबै संरचना ध्वस्त भएकाले वास्तविक शव पत्ता लगाउन कठिन भएको जनाएका छन्।
नेपाल सरकारलाई अनौपचारिक जानकारी
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सरकारबाट हालसम्म औपचारिक जानकारी प्राप्त नभए पनि अनौपचारिक रूपमा विपिनको मृत्युबारे जानकारी पाएको बताए। उनका अनुसार, “हमासले पुष्टि गरेका शवहरू इजरायली सेनालाई हस्तान्तरण गर्नेछ र सेनाले डीएनए परीक्षण गरेर प्रक्रिया अघि बढाउनेछ।”
परिवारमा बज्र परेको विपत्
विपिन जोशी परिवारका एक्ला छोरा थिए। उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा अहिले अमेरिकामा रहेका छन्। विपिनको निधनले सम्पूर्ण नेपाली समुदायमा शोक र पीडाको वातावरण छाएको छ।








