बिज्ञापन
यातायातमन्त्री कुलमान घिसिङले चाडपर्वको अवसर पारेर यात्रुहरूबाट तोकिएभन्दा बढी भाडा असुल्ने तथा टिकटमा कालोबजारी गर्ने यातायात व्यवसायीविरुद्ध तत्काल कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
बिज्ञापन
उनले सार्वजनिक सवारीमा स्वीकृत भन्दा बढी भाडा असुलेको देखिएमा यात्रुहरूलाई तुरुन्त स्थानीय प्रशासन वा सुरक्षानिकायमा खबर गर्न आह्वान गरेका छन्। मन्त्री घिसिङका अनुसार, यस्ता गैरकानुनी कार्यहरूलाई सरकारले शून्य सहनशीलताको नीतिमा रही रोक्नेछ।
मन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यात्रुलाई अनावश्यक दुःख दिएर चाडपर्वलाई कमाईको अवसरका रूपमा नलिन आग्रह गरिन्छ। स्वीकृत भाडादरभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ।”
बिज्ञापन
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले देशको वर्तमान विषम परिस्थितिमा सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
सार्वजनिक गुनासा तथा यात्रुहरूको गुनासोको आधारमा सरकारले निगरानी र अनुगमन कडा बनाउने तयारी गरेको समेत मन्त्री सचिवालयले जनाएको छ।








