सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा कार्यरत एआईजी थापालाई आईजीपीमा नियुक्ति गरेको हो। आईजीपी थापाले आज मंगलवारबाट करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्नुहुनेछ।
बिज्ञापन
प्रहरी महानिरीक्षक वसन्त कुँवर आजबाट अवकास भएपछि थापाले आईजीपीको वागडोर सम्हाल्नुहुनेछ। सरकारले थापालाई वरिष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो। सरकारले प्रहरी नियमावली २०७१ अनुसार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मार्नुभएको हो। थापाले करिब ६ महिना अर्थात् २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ।
बिज्ञापन
आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन् । राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ। दिनदिनै बढ्दो क्रममा रहेको हत्या, लागुऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँको मुख्य चुनौती र काम हो।
भक्तपुर सिपाडोल स्थायी घर भएका थापा हाल भैंसेपाटीमा बस्नुहुन्छ। इन्स्पेक्टरको बेसिक तालिम सकेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख हुनुभएको थियो। एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालय, बुटवलमा रहेर प्रहरी प्रमुख हुनुभएको थियो। एसएसपीमा बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) को प्रमुख भइसक्नुभएको छ।
बिज्ञापन
उहाँले २० भन्दा बढी युनिटको नेतृत्व गरिसक्नुभएको छ। उहाँ नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमान्ड गर्ने अफिसरका रूपमा पनि परिचित हुनुहुन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखका साथै एसपी पदमा हुँदाका जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगञ्ज प्रमुख, रूपन्देही इलाका प्रहरी कार्यालय प्रमुख, इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुनुहुन्छ।
थापा आफूलाई दिएको जिम्मेवारी पूरा गर्नेमा उहाँ निकै अघि देखिनुभएको छ। अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार ६ महिनाका लागि आईजीपी हुनुहुनेछ। अहिले नेपाल प्रहरीको ऐन संशोधनका लागि संसद्मा छलफलका क्रममा रहेको छ। यदि, यही संसद् अधिवेशनमा उक्त ऐन पास भए आउने आईजीपीको कार्यकाल साढे दुई वर्ष थप हुनेछ। थापा आईजीपी नियुक्ति भएसँगै आजबाट आईजीपी कुँवर ५ एआईजी र ३ डीआईजी ३० वर्षे सेवा अवधिका कारण अवकासमा जाँदै छन्। एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेरसिंह कडायत, जनक भट्टराईले अवकाश पाउनेछन्। डीआईजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि आजबाट अवकास पाएका छन्।
आईजीपी थापाले कानुन संकायमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा एम पीए गर्नुभएको छ। संयुक्त राष्ट्रसंघ मिसनअन्तर्गत सुडान र लाइबेरिया भ्रमण गर्नुभयो। विदेश भ्रमणअन्तर्गत १४ र स्वदेशमा ११ तालिममा सहभागी हुनुभएको थियो। उहाँले प्रबल जनसेवाश्री, सुप्रबल जनसेवाश्री र संयुक्त राष्ट्रसंघको ३ वटासमेत गरी ८ वटा पदक, उत्कृष्ट प्रहरी व्यवस्थापक तथा दैवी प्रकोपसमेत गरी १६, २१ वटा नगद पुरस्कार, बेरुजु फछ्र्यौटमा प्रभावकारी भूमिका निर्वाह गरेकोमा ०७५ देखि ०७८ सम्म लगातार चार वर्ष प्रशंसापत्रसहित सम्मान पाउनुभएको छ।
०५२ सालमा प्रहरी निरीक्षक पदमा कार्यरत थापा २०६३ भदौ ८ गते प्रहरी नायब उपरीक्षक, ०७२ साउन ८ गते प्रहरी उपरीक्षक, ०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, ०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र सोही वर्ष चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएको थियो।
आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन्। राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ। दिनदिनै बढ्दो क्रममा रहेको हत्या, लागुऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँको मुख्य चुनौती र काम हो।








