सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज पनि आन्दोलन जारी राखेका छन्।
बिज्ञापन
मंगलबार ओपीडी सेवा ठप्प पारेका उनीहरुले आज आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन्। आन्दोलन थालेको ८ दिन बितिसक्दासमेत माग पूरा नभएपछि थप सशक्त रुपमा लाग्नुपरेको उनीहरुको भनाइ छ। ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आवासीय चिकित्सकहरु आन्दोलित छन्।
बिज्ञापन
उनीहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए। उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानररप्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए।
आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए। संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन्। उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन्।
बिज्ञापन
स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन्।








